Home / News / चेन्नेईबाट काठमाडौंका लागि उडे चिनियाँ राष्ट्रपति सी

चेन्नेईबाट काठमाडौंका लागि उडे चिनियाँ राष्ट्रपति सी

काठमाडौँ, २५ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपालका लागि चेन्नेईबाट प्रस्थान गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिने अनौपचारिक शिखर सम्मेलनका लागि हिजो तमिलनाडू पुगेका राष्ट्रपति सी नेपाली समय अनुसार आज दिउँसो २ बजे चेन्नेईबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी नेपालको दुई दिने राजकीय भ्रमणमा आउन लागेका हुन् । उनी साढे ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

उनको आजै राष्ट्रपति भण्डारी तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेट तय भएको छ ।भोलि बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटवार्ता हुनेछ । त्यसपछि सी नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाली टोलीको वार्ता हुनेछ ।राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमै नेपाल र चीनबीच विभिन्न सम्झौतामा हस्ताक्षरसमेत हुनेछ ।

के–के खाने छन् सीले होटेल सोल्टीमा ? चिनियाँ राष्ट्रपति सी चिनफिङको खाना बनाउने सेफ चीनबाट नै काठमाडौं ल्याइएको छ ।बिगत एक महिनादेखि काठमाडौंको होटेल सोल्टीमा बसेर खानपिन र नेपाली खानाका बारेमा जानकारी लिएको स्रोतले जनाएको छ ।सीको खाना चीनकै सेफहरूले बताउनेछन् । शनिबारको रात्रिभोजमा सीलाई नेपाली बारा, कुरिलो र क्वाँटी खुवाइनेछ ।दुई दिने नेपाल भ्रमणका क्रममा शनिबार काठमाडौं ओर्लन लागेका चिनियाँ समकक्षी सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले होटेल सोल्टीमा रात्रिभोज आयोजना गरेकी छिन् ।शनिबार राति साढे ७ बजेदेखि शुरू हुने रात्रिभोजमा एपिटाइजर, सुप, मेन कोर्ष, डिजर्ट गरी चार तहको खाना परिकार व्यवस्था गरिएको स्रोतले जनाएको छ ।

राष्ट्रपति सीलाई दिइने रात्रिभोजमा नेपाली, युरोपेली र चिनियाँ गरी तीन स्वादको मिश्रण रहनेछ ।रात्रिभोजमा सी भ्रमण दलमा रहेका चिनियाँ उच्च अधिकारी, नेपालबाट राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली, नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका नेता, सुरक्षानिकायका प्रमुख र केही व्यवसायी रहनेछन् ।रात्रिभोजमा २५० जना सहभागी हुनेछन् । त्यसबाहेक अन्य १५० जनाका लागि समेत सोल्टीमा खानपिनको व्यवस्था गरिएको छ ।राष्ट्रपति बस्ने सोल्टीको स्वीट रुममा किचेनसहित बैठक, मास्टर बेडरुम र सुरक्षागार्ड रुम छन् ।सोही किचनमा राष्ट्रपति सीका लागि चीनबाट ल्याइएका परिकार पाक्ने स्रोतले जनाएको छ ।